प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कुनैपनि निर्णय खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ।
कांग्रेस नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अघिल्ला सरकारले गरेका निर्णय नयाँ सरकारलाई खारेज नगर्न चेतावनी दिएका हुन्। उनले प्रजातन्त्रमा अघिल्ला सरकारले लिएका निर्णय नयाँ सरकारले खारेज गर्नु न्यायसंगत नहुने तर्क समेत गरे।
संविधान, कानून र मुलुकमाथि आर्थिक भार थोपर्नेगरी देउवा नेतृत्वको सरकारले लिएका निर्णय फिर्ता लिने नयाँ सरकारले तयारी गरिरहेको छ। यता, कांग्रेस नेता प्रधानले भने प्रजातन्त्रमा त्यसो गर्न न्यायसम्मत नहुने प्रतिक्रिया दिए।
सोमबार काठमाडौंमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा बोल्दै उनले आंशिक प्राध्यापकहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरे।
कांग्रेस नेता प्रधानले आफूहरूको समस्या समाधान नभए अनसन बस्न तयार हुन आंशिक प्राध्यापकहरूलाई सुझाव पनि दिए।