कांग्रेसलाई पुनर्जीवन दिन भन्दै कांग्रेसका युवा नेताहरूले पुनर्जागरण अभियान सुरू गरेका छन्।
प्रजातन्त्र दिवसको अवसर पारेर युवा नेता गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, प्रदीप पौडेल, धना खतिवडा लगायत नेताहरूले उक्त अभियान सुरू गरेका हुन्।
उनीहरूले निर्वाचन हारको समिक्षा गर्न केन्द्रीय समिति बैठक र त्यसपछि महासमिति तथा महाधिवेशन डाक्न पार्टी नेतृत्वलाई निरन्तर दबाब दिँदै आएका थिए। नेतृत्व परिवर्तन लगायतका मुद्दा पनि उनीहरूले उठाइरहेका छन्।
राजधानीमा आयोजना गरिएको एक अन्तरक्रियामा नेताहरूले यो अभियानको घोषणा गरेका हुन्। नेता थापाले कांग्रेस पुनर्जागरण अभियानको अवधारणा पत्र प्रस्तुत गरेका थिए।
‘के आजकै सैद्धान्तिक व्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीले कार्यकर्ताको त्यो आत्मविश्वास र जनताको विश्वासलाई पुन:स्थापित गर्न सक्छ? हाम्रा अगाडिको यक्ष प्रश्न यही हो,’ अवधारणा पत्रमा भनिएको छ, ‘कार्यकर्ता पङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनर्स्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीभित्र आत्मसमिक्षा मात्रै गरेर पुग्दैन त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ।’
निर्वाचनमा पराजयपछिको पीडाबोधलाई शक्तिमा बदलेर फेरी पार्टीलाई द्रुत गतिमा पुनर्जीवन दिन कांग्रेस नयाँ बन्नै पर्ने जिकिर थापाले गरेका थिए। नेता चन्द्र भण्डारीले यो अवधारणा र पुनर्जागरणको अभियानलाई कांग्रेसको नेतृत्वले पनि ग्रहण गर्नुपर्ने बताए।
उक्त कार्यक्रमा अर्घाखाँची, संखुवासभा, रोल्पा, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका सभापतिहरू र रामहरी खतिवडा, होमनाथ दहाल, पुरुषोत्तम बस्नेत, शारदा पौडेल, जनकराज गिरि, विनोद भट्टराई, विनोद कायस्थ जस्ता नेताहरु पनि उपस्थित थिए।
पुनर्जागरणको अभियान दुई चरणमा गर्ने अवधारणा पत्रमा उल्लेख छ।
‘अभियानको पहिलो चरणमा सबै प्रदेश, नगर\गाँउपालिका र वडासम्म परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको पुनर्व्याख्या, संगठनको पुनर्संरचना र कांग्रेसले अंगिकार गर्नुपर्ने आर्थिक सामाजिक विकासका मुद्दाहरूबारे संवाद र छलफल गर्ने र दस्तावेज तयार गरिनेछ,' उक्त अवधारणापत्रमा भनिएको छ, ‘कांग्रेसको सबै तहमा छलफल गरि तयार गरिएको पार्टी पुनर्निर्माणको प्रस्तावित खाका अध्ययनको लागि पार्टीको हरेक तहमा पुर्याउने र पार्टीको महासमिति बैठक तथा महाधिवेशनमा प्रस्तुत गरिने छ।’