६८ औँ प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समिति दाङले प्रभात फेरी र छलफल कार्यक्रम आयोजन गरेको छ।
शहीद गेटबाट बाजागाजासहित सुरू भएको प्रभात फेरी बजार परिक्रमा गरेर कार्यक्रममा परिणत भएको थियो। मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्रजातन्त्रको बाटो अल्मलिँदा मुलुकपछि पर्ने भन्दै जनताले प्रजातन्त्रको अनुभूति गर्ने गरेर काम गर्नु सबैको दायित्व भएको बताए।
‘चुनावसँगै जनताका प्रतिनिधि आएका छन्। जनताले धेरै विकासको आश गरेका छन्,’ प्रमुख चौधरीले भने, ‘त्यो काम अब जनप्रतिनिधिको जिम्मामा आएको छ।’
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले प्रजातन्त्रको संस्थागत विकास आवश्यक भएको बताए। ‘प्रजातन्त्र भनेको व्यवस्था मात्र होइन व्यवहार हो। अतः व्यवहारमा उतारेर नै यसलाई संस्थागत गर्न आवश्यक छ,’ प्रमुख जिल्ला अधिकार श्रेष्ठले भने। मूल समारोह समितिका सदस्य तथा जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले आर्थिक सम्वृद्धिसँग प्रजातन्त्रको विकास जोड्नुपर्ने बताएका हुन्।
घोराही उपमहानगरपालिका उप्रमुख सीता न्यौपाने, नेकपा एमाले दाङका सचिवालय सदस्य मनोहर बुढाथोकी र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले कार्यक्रमलाई सम्वोधन गरेका थिए।
त्यस अवसरमा दोस्रो निर्वाचन दिवस समेत मनाइएको थियो। नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा गत वर्षदेखि यो दिवस मनाउन सुरू गरेको हो। लोकतन्त्रको मेरुदण्ड मानिएको निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि गतवर्ष निर्वाचन आयोगले निर्वाचन दिवस मनाउने घोषणा गरेको थियो। हरेक वर्षको फागुन ७ गतेलाई निर्वाचन दिवसको रूपमा मनाउने गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कार्कीले बताए।
मुलुक संघीयतामा प्रवेश गरेसँगै आयोगले यसैवर्ष तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न समेत गरेको छ।
राणा शासन अन्त्य भएर देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस मनाइएको हो। २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो। सो दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ। एक सय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनता समक्ष घुँडा टेक्न बाध्य भएर प्रजातन्त्र स्थापना भएको घोषणा गरेको थियो।