प्रदेश नम्बर ५ को प्रदेश सभाले कार्य सञ्चालनसम्बन्धी नियमावली बनाउन समिति गठन गरेको छ।
संविधानको धारा १९४ बमोजिम प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, काम, कारबाही र समितिसम्बन्धी अन्य विषय नियमित गर्नका लागि नियमावली बनाउने व्यवस्था गरेको छ। सोही बमोजिम प्रदेश सभाको आइतबारको दोस्रो बैठकले ६ सदस्य समिति गठन गरेको जानकारी प्रदेश सचिव मानबहादुर बिकेले दिए।
समितिमा एमालेका भूमिश्वर ढकाल, हरिप्रसाद रिजाल, माओवादीका तुलाराम घर्ती, कांग्रेसका अष्ठभूजा पाठक, संघीय फोरमका सन्तोष पाण्डे र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेको जानकारी दिइएको छ। समितिले सभामुखको निर्देशनअनुसार समितिका सदस्यहरूबाट सभापति चुनेर १५ दिनभित्र नियमावली तयार पार्ने जिम्मा पाएको छ।
अहिले प्रदेश सभा ‘प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४’ अनुसार सञ्चालन भइरहेको छ। अब बन्ने नियमावलीले कार्यविधिलाई विस्थापित गर्नेछ । प्रदेशसभाको अर्काै बैठक फागुन १३ गते बोलाइएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए।