नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मतमा चयन हुने अवस्था नरहेको स्पष्ट पारेका छन्।
उनले सर्वम्मतीको लागि महामन्त्री शशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने बताएका छन्।
उनले निर्वाचनमा प्राप्त भएको जनमतले पार्टी सभापति शेरबहादुर देउवालाई दलको नेता बन्ने अवस्था नरहेकोले दलको नेतामा देउवा उठ्न नहुने धारणा राखे। उनले भने,‘संसदीय दलको नेतामा देउवाजी सर्वसम्मती बन्ने अवस्था छैन, बरु सर्वसम्मतीको लागि शशांक कोइराला अघि सर्नुपर्छ भन्ने हाम्रो आग्रह छ, चुनाव लड्ने हो भने प्रकाशमान सिंहजीले आफैँ उठ्छु भन्नुभएको छ।’
त्यस्तै, उनले देउवाले संसदीय समितिमा पनि पार्टीको विधानभन्दा बढी संख्याको बनाएको र कार्यसम्पाद समिति पनि विधानभन्दा बढी बनाएको गुनासो पोखे। उनले अहिलेको माहोल अनुसार संसदीय दलको नेतामा नयाँ मान्छे आउनुपर्ने अवस्था रहेको सुनाए।
गुरुङले एमाले र माओवादी केन्द्रबीच एकता होस् भन्ने पक्षमा आफूहरू रहेकोले अबको पाँच वर्ष आफूहरू जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भएर लाग्ने स्पष्ट पारे। उनले भने,‘अबको पाँच वर्ष हामी सशक्त प्रतिपक्षको रूपमा उभिन्छौं, सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्छौं, गुण र दोषका आधारमा हामी समर्थन गर्छौं।’
ओली नेतृत्वको सरकार भर्खरै बनेकोले यसलाई हनिमुन पिरियोड सकिएपछि सरकारको बारेमा सोच्ने उनको भनाइ थियो। उनले भने,‘विगतमा एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियोड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं।’