आफू नियुक्त भएको चार दिनपछि प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिमण्डल विस्तार गरेका छन्। शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने वाम गठबन्धनले तयारी गरेको भएपनि एमाले र माओवादीबीच कुरा नमिल्दा हुन सकेको थिएन।
नेकपा एमालेले आइतबार दिउँसोसम्मको छलफलबाट सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाएपछि मुख्यमन्त्रीले मन्त्रीहरू नियुक्त गरेका हुन्। माओवादी केन्द्रले भने आफूले पाएको भागबण्डाअनुसार शनिबार नै मन्त्रीहरूको टुंगो लगाइसकेको थियो।
प्रदेश नम्बर ६ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसी माओवादी केन्द्रका तर्फबाट नियुक्त भएका छन्।
त्यस्तै, नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्री भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह वुढा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावल सामाजिक विकास मन्त्रालयमा नियुक्त भएका छन्।
यस्तै, सबै मन्त्रीहरूले आइतबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्। दिउँसो ३ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्रीहरूलाई सपथ खुवाएका थिए ।