नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पार्टी एकता चाँडै टुंगोमा पुग्ने विश्वास दिलाउँदै एक साताभित्रै आफूहरू पनि सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
कार्यक्रममा बोल्दै खनालले भने,‘अबको एक साताभित्रै हामी पनि सरकारमा सहभागी हुन्छौं, यसमा कुनै विवाद छैन, तर अहिले पार्टी एकता टुंगोमा पुर्याउने गरी छलफल भैरहेको छ।’
नेता खनालले पछिल्ला दुई दिन एकताबारे अवरुद्धको स्थिति देखिएपनि एकताबारे उक्त गाँठो फुकाउन दुवै पार्टीका अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा जुटेको सुनाए। उनले भने,‘वाम गठबन्धन निर्माण हुँदै एकता गर्ने भनिएको हो, एकता हुन्छ, यसमा कुनै दुई मत छैन।’
आफूहरू मुलुकमा बलियो सरकार निर्माण होस् भन्ने पक्षमा रहेकोले सकेसम्म एकता भएर नै सरकारमा जान चाहेको खनालको भनाइ थियो।