प्रदेश नं. ६ का मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीहरूले गर्ने कार्यमा हुने त्रुटी वा लापरबाहीलाई श्रम भ्रष्टाचारको उपमा दिएका छन्। उनले कर्मचारी विभिन्न बहानामा बिदा बस्ने, कार्यालयमा रहँदा पनि कार्य सम्पादन नगरेर बस्ने, सेवाग्राही सन्तुष्ट हुने गरि सेवा प्रवाह तथा व्यवहार गर्न नसक्नुलगायतका कार्यलाई श्रम भ्रष्टाचारको उपमा दिएका हुन्।
यस्तै, मुख्यमन्त्री शाहीले द्रुत गतिका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। जनप्रतिनिधि र कर्मचारीहरुमाथि छोटो अवधिमा प्रदेश समृद्ध बनाउने जिम्मेवारी आएको भन्दै मुख्यमन्त्री शाहीले कर्मचारीहरुले पनि द्रुत गतिमा काम गर्नुपर्ने बताएका हुन्।
यसैगरी, मुख्यमन्त्री शाहीले काम गर्ने क्रममा आफ्नो मानसिकता परिवर्तन गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन्। यस्तै कार्यशैली र जीवन शैलीमा परिवर्तन गरेर सकारात्मक रुपमा काम गर्न, भ्रष्टाचाररहित प्रशासन झल्कने खालका काम गर्न कर्मचारीहरुलाई शाहीले निर्देशन दिए।
यसैगरी, मुख्यमन्त्री शाहीले एक महिनाभित्र सबै मन्त्रालयलाई आफ्ना कार्य योजना प्रस्तुत गर्न समेत निर्देशन दिएका छन्।