प्रदेश नम्बर ५ को उपसभामुखमा बर्दियाकी कृष्णी थारू निर्वाचित भएकी छन्। आइतबारको प्रदेशसभा बैठकमा थारूले ६६ मत पाएकी छन्।
नेपाली कांग्रेसबाट उपसभामुखमा उम्मेद्वारी दिएकी कपिलबस्तुकी रिना नेपाल विकले १९ मत मात्रै प्राप्त गरेकी थिइन्। प्रदेश नं. ५ मा कांग्रेसका १९ सांसद मात्रै छन्। विकलाई कांग्रेसको मत मात्रै परेको छ।
यो प्रदेशमा एमालेका ४१ र माओवादी केन्द्रका २० गरि ६१ सांसद छन्। त्यो बाहेक उपसभामुखमा निर्वाचित थारूलाई थप ५ मत प्राप्त भएको छ। उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको थियो। नेकपा एमालेकी सांसद थारु पूर्वकमलरी हुन्।
आइतबार संसदमा कुल ८५ सांसद उपस्थित थिए। प्रदेश नं. ५ मा कुल ८७ सांसद छन्। उपसभामुखको निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे थिए। फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन्। तर विवादका कारण राष्ट्रिय जनता पार्टीकी १ जना सांसद्ले सपथ ग्रहण गरेकी छैनन्।
‘मुक्त कमैया समूह’ को अध्यक्षदेखि उपसभामुखसम्मथारूले करिब १८ वर्ष कमलरी जीवन व्यथित गरेकी थिइन्। उनी निर्वाचित भए लगत्तै सेतोपाटीसँग कुरा गर्दै आफू अत्यन्तै भाग्यमानी भएको प्रतिक्रिया दिइन्।
घरको आर्थिक अवस्था निकै कमजोर भएकै कारण कृष्णी थारूका तत्कालीन कृषि विकास बैंकका प्रमुखको आवासमा कमलरी बसेकी थिइन्। कमलरी बस्दा १४ वर्षको उमेरमा उनको पूर्वमुक्त कमैयासँग विवाह भयो।
सानै उमेरदेखि अर्काको घरमा कमलरी बसेकै कारण कृष्णाले स्कुल जान र पढ्न पाइनन्। तर, जमिनदारको घरमा कमलरी बसेकै समयमा कृष्णीले २०५० सालमा गाउँमै प्रौढशिक्षामार्फत कखरा चिनिन्।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ सालमा कमहलरी/कमैया मुक्त गरेपछि उनी पनि मुक्त भइन्। कमलरी जीवनबाट मुक्ति पाए पनि आर्थिक अवस्थाले पिरोल्न थाल्यो।
२०५७ सालमा साबिकको बर्दियाको राजापुर सामुदायिक वनको खाली जमिनमा बस्न थालेका उनीहरूलाई सरकारले २०५८ सालमा राजापुर नगरपालिका–४ मा एक कठ्ठा १० धुर जमिन उपलब्ध गराएको थियो।
सरकारबाट जग्गा पाएपछि कृष्णीको परिवारमा खुसी छाएको र जीवन प्रतिको आशा बढेको उनले बताइन्।
२०५९ सालमा मुक्त कमैया बस्तीका १२ जना मिलेर ‘मुक्त कमैया समूह’ गठन गरिन्। त्यसको अध्यक्ष बनेकी कृष्णीले यहीबाट राजनीतिमा लागिन्। ‘म जीवनमा पहिलोपटक नेतृत्वमा पुगेको क्षण त्यही थियो,’ कृष्णीले भनिन्, ‘त्यसपछि मेरै पहलमा समूहभित्रकाले मासिक पाँच रुपैयाँ बचत गर्न थाल्यौं, पछि १० बनायौँ, त्यो क्रम बढ्दै गयो र त्यही रकमले आफ्नो तथा बालबच्चाको आवश्यकता पूरा गर्थ्यौ।’
विवाहअघि ७ वर्ष र विवाहपछि १२ वर्ष अरूको घरमा काम गर्न बसेकी तिनै कृष्णीले गत मंसिरको प्रदेशसभा निर्वाचनबाट प्रदेश नं. ५ को सांसद बनिन्।
२०५९ सालमा १२ जनाको नेतृत्व गर्दै अध्यक्ष बनेकी कृष्णी आज प्रदेश ५ को उपसभामुख बनेकी छन्। उनी उपसभामुखमा निर्वाचित भएपछि पछाडि पारिएका वर्ग, जाति, कमैया, कमलरी, बुक्रही, दलित, आदिवासी, जनजातिको अधिकारका लागि नीति निर्माण गरेर अघि बढ्ने दृढता व्यक्त गरिन्।