काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारत नेपाली कांग्रेका नेता खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन्।
नर्भिक अस्पातलबाट कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पूर्व गृहमन्त्री समेत रहेका खड्काको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्। ‘उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको चिकित्सकहरूले हामीलाई जानकारी दिएका छन्। उहाँले आज बिहान हामीसँग पनि धेरै कुराकानी गर्नु भयो। आत्तिनुपर्ने अवस्था छैन,’ सभापति खड्काले फोनमा सेतोपाटीलाई भने। सुन्निएको अनुहार र हात खुट्टामा पनि उल्लेखनीय सुधार आएको सभापति खड्काले जानकारी दिए।
मृगौला र युरिक एसिडका बिरामी नेता खड्का बिहिबार घरमै शौचालय जाँदा लडेको हुँदा अस्पताल भर्ना गरिएको सभापति खड्काले बताए। तर गत बिहिबार नर्भिकमा भर्ना गरिएका नेता खड्काको स्वास्थ्यमा सुधार आएको भएपनि आज (आइतबार) दिल्लीस्थित एपोलो अस्पतालमा फलोअप उपचारका लागि लगिएको कांग्रेसका युवा नेता महेश श्रेष्ठले जानकारी दिए । ‘ बिहान ११: ४० बजे नेपाल वायुसेवा निगमको जहाजबाट खुमबहादुर दाई दिल्लीतर्फ लगिएको छ,’ श्रेष्ठले भने।
केही वर्ष पहिला एपोलो अस्पतालमा नेता खड्काको मृगौला पत्यारोपन गरिएको हुँदा फलोअप चेकअपका लागि एपोलोमा नै जानु उपयुक्त हुने चिकित्सकको सल्लाह अनुसार खड्का दिल्लीतर्फ लागेको श्रेष्ठले बताए। ‘त्यस्तो कुनै क्रिटिकल अवस्था छैन भन्ने जानकारी चिकित्सकले दिएका छन्, तर, परिवारजन अलि आत्तिएको हुँदा दिल्ली लगिएको हो।’–श्रेष्ठले भने । केही वर्ष पहिला दुवै मृगौला प्रत्यारोपन गरेका नेता खड्का कहाँ दिनहुँ सयौं मानिस र कार्यकर्ता भेट्न आइरहने हुँदा समस्या बल्झिएको भन्ने जानकारी चिकित्सकले दिएको श्रेष्ठलले बताए।
‘अब दिल्लीमा खुमबहादुर दाई अलि लामै रेस्टमा बस्नु हुन्छ होला, किनकि यहाँ त उहाँलाई सधैँ मानिसहरूले घेरेरै राख्छन्,’– श्रेष्ठले भने ‘उहाँलाई आरामको जरुरत छ।’ मुख्य गरि उहाँलाई खुट्टामा समस्या देखिएको भएपनि बिहान उहाँले आफैँ खुट्टा उचालेर भेटन गएकाहरूलाई देखाएको श्रेष्ठले बताए।
यसैबीच, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काले पनि उहाँको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका छन्। ‘आज बिहान मैले अस्पतालमा भेट्दा उहाँले उल्टै मेरो स्वास्थ्य अवस्था सोध्नु भयो र दाङलाई राजधानी बनाउन सबै लाग्नुपर्ने कुरा गर्नु भयो,’– सभापति खड्काले भने ‘उहाँले अझै दाङ जाने कुरा पनि गर्नुहुन्थ्यो, तर, मैले सञ्चो नहुँदासम्म जानु हुँदैन भन्ने सल्लाह दिए।’
देउवा र कोइराला अस्पताल पुगेयसैबीच, कांग्रेसभित्र प्रभावशाली मानिने नेता खड्का अस्पताला भर्ना भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला अस्पताल पुगेर चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेका छन्।
शनिबार अस्पताल पुगेर उनीहरूले चिकित्सकसँग खड्काको स्वास्थ्य अवस्था बुझेको दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिएका हुन्।
खड्कालाई अस्पतालमा स्वास्थ्य लाभको कामनासहित अस्पतालमा भेट्न जाने विभिन्न दलका नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति रहेको खड्काले बताए। त्यसक्रममा सभापति देउवा र महामन्त्री कोइरालाले खड्कासँग पनि कुरा गरेको सभापति खड्काले बताए।