प्रहरीहरूनै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुन थालेपछि काठमाडौं प्रहरी प्रमुखको विभागीय प्रमुखसँग यसबारे छलफल गरेका छन्।
बलात्कार, लागूऔषधदेखि फिरौती रकम असुली र विभिन्न भ्रष्टाचारमा प्रहरी नै समातिन थालेपछि भर्खरै काठमाडौं प्रहरीको जिम्मेवारी पाएका एसएसपी विश्वराज पोखरेलले काठमाडौंका २ सय अधिकृतलाई भेला पारी ब्रिफिङ गरेका छन्।
‘काठमाडौं प्रहरीका कारण संगठनको शिर झुकेको छ, एक दुई जना लोभीपापी मन भएका प्रहरी अख्तियारको ‘स्टिङअप्रेशन’मा परेका छन् तर संगठनकै बदनाम भयो, गल्ती गर्ने एक जना हुन्छ त्यसैका कारण संगठनकै बेइज्जत हुन्छ र अहिले त्यहीँ भएको छ, लोभीपापी मन भएकाहरूका लागि संगठनमा कुनै स्थान छैन,’ पोखरेलले भने।
महानगरीय प्रहरी परिसरको नेतृत्व पाएको चौंथो दिनमा आफू मातहतका करीब २ सय प्रहरी अधिकृतलाई ब्रिफिङ गर्दै एसएसपी पोखरेलले भने, ‘बर्दी लगाएर कानूनको पाठ सिकाउन बसेका प्रहरी नै ‘स्टिङ अप्रेशन’मा पर्दा अति नै भयो, यस्ता समाचार सुन्न नपरोस्, यस्ता कुरा मलाई मान्य हुने छैन, विचार गर्नुहोला।’
२ घन्टा लामो ब्रिफिङमा एसएसपी पोखरेलले भनेका छन्, ‘राजधानीको सुरक्षा व्यवस्थासँग मुलुकको इज्जत जोडिएको हुन्छ, त्यसैले राजधानीलाई सुरक्षित सहर बनाउन प्रहरी इमान्दार हुनुपर्छ।’
उनले प्रहरीको बर्दीको सम्मान गर्न सबै अधिकृतलाई सम्झाएका छन्। ‘काठमाडौंमा ७७ जिल्लाका नागरिक बस्छन्, उनीहरूका अनेकौ धन्दा हुन्छन्, गलत काम गर्ने व्यक्तिसँग उठबस गरेको मात्र थाहा पाएमा ठाँउको ठाँउ कारबाही हुन्छ,’ एसएसपी पोखरेलले भने, ‘मेरो पहुँच छ भन्दैमा नफुर्के हुन्छ, प्रहरीको बर्दीको सम्मान गर्न आउँदैन भने कारवाहीको भागिदार हुनुपर्ला।’
गलत काम गर्नेले अनेक दाउ छोपेर प्रहरीसँग नजिक हुने अवसर खोजेका भन्दै उनले अनावश्यक दुःख नदिनू र गल्ती गर्नेलाई नछाड्नू भनेका छन्।
‘आफूभन्दा माथिका अधिकारीलेसमेत त्यस्तो गरेमा कुनै छुट नदिनू,’ उनले भने, ‘कानुन सबैलाई बराबर हुन्छ, त्यो कुराको ख्याल गर्नू।’
पछिल्लो समयमा राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै नाजुक भएको स्मरण गराउँदै उनले भने, ‘सुरक्षा भएन भन्दा पनि सुरक्षा प्रदान गर्ने हामी कहाँ चुकेका छौं,त्यो हेर्नुपर्छ। जमाना बदलिएको छ, सबैले ध्यान दिएका हुन्छन्, प्रहरी हुँ भन्दैमा जे पनि गर्न मिल्दैन, विचार गर्नुहोला, फेरि तपाईँहरूलाई बचाउने वाला कोही छैन,’ एसएसपी पोखरेलले भने।
केही दिनअघि काठमाडौंको कालीमाटीमा जुवा खालको पैसा प्रहरीले नै लुटेको घटना, दरबारमार्गको सामुहिक बलात्कारको घटना ढाकछोपमा प्रहरीका हात र लागूऔषध तथा अख्तियारको स्टिङ अप्रेशनमा परेका प्रहरीको उदारहण दिँदै एसएसपी पोखरेलले भने, ‘यस्ता काम गर्नु त परैको कुरा कल्पना मात्र गरे पनि के हालत हुन्छ, त्यो समयले बताउनेछ।’
ब्रिफिङ्मा सहभागी एक अधिकृतले भने, ‘एसएसपी सा’पको निकै कडा ब्रिफिङ भयो, योभन्दा अघि ब्रिफिङ नभएको होइन तर हिजोको ब्रिफिङले कानै ततायो,’ उनले भने, ‘काठमाडौं परिसरमा यस अघि नै उहाँ बसिसक्नुभएको छ, कहाँ कस्तो छ भन्ने कुरा उहाँलाई सबै कुराको हेक्का छ।’
यो पनि हेर्नुहोस्