नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ।
आइतबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको पहिलो बैठकले दलको नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो। बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनले पार्टी एकताका लागि केही सैद्धान्तिक र केही वैचारिक विषयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुनेबारे पनि बैठकमा छलफल भएको उनले जानकारी दिइन्। सरकारमा समर्थन जनाइसकेकाले पार्टी एकतामा बाँकी रहेका विषयको टुंगो लगाई राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरू लगायत पदबारे प्याकेजमा सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने बताइन्।
संसदीय दलको नेतामा चयन भएपछि बैठक स्थलबाट बाहिरिँदै गर्दा अध्यक्ष दाहालले छिटै पार्टी एकताको टुंगो लाग्ने बताए। पार्टी एकताबारे संचारकर्मीले सोधेको जिज्ञासामा उनले ‘एकताको कुरा गर्न जाँदै छु’ भन्ने संक्षिप्त प्रतिक्रिया दिए।
अध्यक्ष दाहालले समानुपातिकबाट प्रतिनिधिसभाका लागि चयन भएका सांसदहरूलाई प्रमाण पत्रसहित बधाई दिएका थिए।