प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी विधि, नीति र संविधानसम्मत तोकिने बताएका छन्।
धुलिखेल नगरपालिकाको ३२ औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले प्रदेशको राजधानी तोक्न हतार नभएको बताएका हुन्।
उनले जुन कामको लागि भनेर अस्थायी मुकाम तोकिएको छ, त्यो कामको शुरुवातसमेत नभएको बताए। त्यसको लागि कुनै दिन आउने र त्यही क्रममा विधि, नीति र संविधानले दिएको अधिकार प्रयोग गरेर राजधानी तोकिने उनको भनाइ छ ।
मुख्यमन्त्री पौडेलले स्थानीय निकायको अधिकारको लागि २० वर्षसम्म स्थानीय स्वायत्त शासन र सरकारको पक्षमा गरेको आन्दोलनको उपलब्धिस्वरुप नगरपालिकाहरू सरकारका रुपमा स्थापित भएको बताए।
मुख्यमन्त्री भइसकेपछिको पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार कस्तो हुने भन्ने कुरा आफूलाई नै थाहा नभएको बताए। ‘पहिलोपटक प्रदेश सरकार गठन भएकाले यसको मोडेल कस्तो हुने भन्ने नै थाहा नभएकाले त्यस बारेमा धेरै कुरा गरेर भ्रम सिर्जना गर्न चाहन्नँ,– पौडेलले भने। उनले धेरै कुरा बोल्नेभन्दा पनि काम गरेर देखाउने बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ र गोकुल बाँस्कोटाले संघीयता व्यवस्थापन गर्दै कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गर्दै ३ नं प्रदेशको राजधानी काभ्रे बनाउन आग्रह गरेका थिए।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले प्रदेशको राजधानी बनाउन समन्वय समिति भौतिक संरचनाको व्यवस्थापनका लागि तयार रहेको बताए।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले सांसदले सक्ने कामको बारेमा मात्रै बोल्न आग्रह गरेका थिए।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले काभ्रेपलाञ्चोक जिल्ला तथा धुलिखेल क्षेत्रलाई प्रदेशको राजधानीको विषयमा मुख्यमन्त्रीको प्रतिबद्धता रहनुपर्ने बताए।
सो अवसरमा नगरप्रमुख व्याञ्जुले नगरपालिकाको जिम्मेवारी सम्हालेपछि गरेको प्रगति र भावी योजना सुनाएका थिए। सो क्रममा उनले नगरले कार्यसम्पन्न गरेका विविध विषयका ३८ वटा कार्य, घोषणा गरिएको नौ बँदे कार्य तथा नगरपालिकाले गर्ने काममा द्विपक्षीय सम्बन्ध विस्तारका लागि गरिने २१ वटा बुँदा प्रस्तुत गरेका थिए।
सो अवसरमा नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै नगरपालिकाका पूर्वप्रमुख बेलप्रसाद श्रेष्ठ र हास्यकलाकार हरिवंश आचार्यलगायत ३३ व्यक्तित्व तथा संघसंस्थालाई सम्मान गरिएको थियो।
धुलिखेल नगरपालिकाले नगरको विकासका लागि नीतिगत, योजनाबद्ध विकासका योजना घोषणा गरेको छ । जसमा नगरलाई ‘स्मार्ट सिटी’का रुपमा विकास गर्ने, धुलिखेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, पाँच वर्षभित्रमा धुलिखेल नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने, फोहोरमैलाको दिगो व्यवस्थापन गर्ने तथा भू–उपयोग नीति तथा भवन आचारसंहिता निर्माण गरी कडाई गर्नेलगायत योजना अघि सारेको नगरप्रमुख व्याञ्जुले बताए।
त्यस्तै नगरले विद्युतीय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको जनाएको छ । त्यसका साथै सन् २०१८ सम्ममा बालमैत्री नगर बनाउनका लागि आधारभूत सर्भेक्षणको काम प्रारम्भ गर्नुका साथै भूकम्पपछिको पुनःनिर्माणलगायत काम भइरहेको जनाइएको छ।