पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई थप उपचारका लागि आइतबार दिल्ली लैजाने तयारी गरिएको छ।
दुई दिनअघि नेता खड्का अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। मिर्गौला र कलेजोका बिरामी कांग्रेस नेता खड्काले लामो समयदेखि उपचार गर्दै आएका थिए।
बिहीबार एक्कासी नेता ‘माइल्ड स्ट्रोक’ भएपछि अस्पताल ल्याइएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ। अस्पताल स्रोतले शुक्रबार रातिदेखि नेता खड्काको मुटुको चालमा असामान्य तीव्रता देखिको हुँदा थप उपचारका लागि खड्कालाई दिल्लीस्थित अपोलो अस्पताल लैजाने तयारी गरिएको जानकारी दिएको छ।
दाङ निवासी खड्कालाई शनिबार नै उपचारका लागि दिल्ली लैजान चाहेको भए पनि एयर एम्बुलेस उपलब्ध हुन नसकेको स्रोतले बताएको छ। तर आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भए पनि खड्कालाई दिल्ली लैजाने निर्णय परिवारजनले गरेका छन्।