भोलि (आइतबार) हुने प्रदेश नं. ५ को उपसभामुखमा दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेकी सांसद कृष्णा थारू र नेपाली कांग्रेसकी रिना नेपाल बिकले शनिबार उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
बर्दिया निवासी थारूले प्रदेश नं. ५ को प्रदेशसभा भवनमा बिहान १० बजे उम्मेदवारी दर्ता गराएकी थिइन् भने कपिलबस्तुकी कांग्रेस नेतृ विकले साढे १२ बजेपछि उम्मेदवारी दर्ता गराएकी थिइन्।
आइतबार हुने उपसभामुख निर्वाचनका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने समयसीमा तोकिएको थियो ।
माओवादीले सभामुख र एमालेले उपसभामुख पाउने यसअघि नै भागबण्डा बामगठवन्धनका बीचमा भइसकेको छ। जसअनुसार फागुन २ गते रूकुमपूर्वका माओवादी नेता पूर्णबहादुर घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
उनको विरूद्ध कसैको उम्मेदवारी परेको थिएन। प्रदेश नं. ५ मा कुल ८७ सांसद छन्। त्यसमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद छन् नेपाली काँग्रेसका जम्मा १९ सांसद मात्रै छन्। वामगठवन्धनका पक्षमा ६१ र कांग्रेसका पक्षमा १९ सांसद मात्रै रहेको हुँदा बर्दियाकी एमाले नेतृ थारूको जित निश्चित जस्तै छ।
संघीय समाजवादी फोरमका ५ सांसद छन्। तर उनीहरूले कसैलाई समर्थन गरिसकेको छैनन्। बाँकी दलका अन्य ३ सांसदहरुले पनि कसलाई समर्थन गर्ने भन्ने जानकारी दिएका छैनन्। तर, कांग्रेसका १९ र बाँकी ७ सबै मिसाउँदा पनि २६ मात्रै पुग्छ।
कांग्रेसले औपचारिकताका लागि मात्रै उम्मेदवारी दर्ता गराएको बताइन्छ। रिना नेपाल विक कांग्रेसकी समानुपातिक सांसद हुन भने विक निर्वाचित सांसद हुन्। एमालेकी थारू पूर्व मुक्त कमलहरी हुन्। थारू २०५७ साउन २ गते सरकारले बाधा–श्रमिकमुक्त भएको घोषणा गरेपछि मुक्त भएकी थिइन्।
त्यस्तै कपिलबस्तुकी विक दलित आन्दोलनमा अग्रणि भूमिका निर्वाह गर्दै आएकी नेतृ हुन्। थारूको प्रस्तावकमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल छन्। समर्थक माओवादी केन्द्रका दधिराम न्यौंपाने छन्। त्यसैगरी कांग्रेसकी विकको प्रस्तावकमा सुरेन्द्र हमाल बसेका छन् भने समर्थकमा रमा अर्याल छन्।
भोलि दिउँसो १ बजे हुन गइरहेको उपसभामुखको निर्वाचनमा धोनि मतले टुङ्गो लगाउने वा मतदान नै हुने एकीन भइ सकेको छैन।