प्रदेश नं. ६ को संसद सचिवालयमा प्रदेश प्राप्तिका लागि शहादत प्राप्त शहिदहरुको तस्विर राख्न माग गरिएको छ । शनिवार बसेको प्रदेशसभाको तेस्रो बैठकमा माओवादी केन्द्रबाट सांसद् धर्मराज रेग्मीले प्रदेश प्राप्तिका निम्ति ज्यान गुमाएका चार जना शहिदहरुको तस्विर वैठक कक्षमा देखिने गरि भित्तामा टाँस्न आग्रह गरेका छन् ।
उपसभामुखको प्रस्तावक रहेका सांसद् रेग्मीले ‘उपसभामुख निर्वाचित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा यस्तो माग गरेका हुन् । उनले प्रदेश प्राप्तिका लागि साहदत प्राप्त शहिदहरु गोपालसिंह रजवार, यामबहादुर विसी, टिकाराम गौतम, हरिबाबु कुँवरका तस्विरहरु राख्न आग्रह गरेका हुन् ।
उपसभामुखमा घर्ती
यसैबीच, शनिबारको बैठकले माओवादी केन्द्रका सांसद् पुष्पा घर्ती (विष्ट)लाई उपसभामुख घोषणा गरेको छ । उपसभामुखको उम्मेदवारी दिन तोकिएको समयभित्र घर्तीको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध उपसभामुखमा चयन भएकी छन् । उपसभामुखमा घर्तीलाई पुष्पा घर्तीले समर्थन गरेकि थिइन् ।
यस्तै, वैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभाको वैठक सञ्चालन गर्न पाँचजना सांसदहरुलाई मनोनयन गरेको छ । जसमा सांसदहरु गणेसप्रसाद सिंह, दिनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाय, राजु नेपाली र सोशिला शाही रहेका छन् ।