सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष प्रचण्डले हिजो सुरू भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्दै सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल सुरू भएको बताए।
‘सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ,’ अध्यक्षले भने, ‘तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि बिभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं। अहिले सकारात्मक छलफल सुरू भएको छ।’
उनले मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले बिहिबार आफ्नो पार्टी सरकारमा सहभागी हुन नसकेको स्पष्टिकरण पनि दिएका छन्।
अध्यक्ष दाहालले शनिबारभित्र एमालेसँग पार्टी एकता र मन्त्रालय बाँडफाँट लगायतका विषयमा टुंगो लाग्ने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने पनि स्पष्ट पारे।
अध्यक्ष दाहालले मुलुकमा आमूल सुधार हुनेगरी शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।