सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक विकासको लागि व्यवहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पारे। उनले मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्ति र भौतिक पूर्वाधारको कामलाई तीव्रता दिनुको विकल्प नरहेको पनि स्मरण गराए।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको समृद्धि र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कृषि, पर्यटन र जलस्रोत नै मुलुक समृद्धिको मुख्य आधार भएको पनि उल्लेख गरे।
वरिष्ठ नेता नेपालले रोजगारी वृद्धि र उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याए।