दाङका स्थानीय तहका जनप्रतिनिधि महिलाहरूले महिला र पुरुषबीचको असमानताले काम गर्न अप्ठेरो परेको बताएका छन्।
दाङको तुलसीपुरमा शुक्रबार प्रदेश नम्बर ५ का जनप्रतिनिधि महिलाहरूको स्वागत र सम्मानमा आयोजित एक कार्यक्रममा उनीहरूले कागजमा मात्रै महिलालाई अधिकार प्रदान गरिएको गुनासो गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाकी उपमेयर सीता न्यौपानेले संविधानले महिलाहरूलाई अधिकार दिएपनि त्यो कागजी रूपमा मात्रै सिमित रहेको बताइन्।
‘महिलालाई संविधानले कागजी रूपमा अधिकार त दिएको छ, तर, त्यो कार्यान्वयन तहमा थुप्रै चुनौतीहरू छन्,’ उपमेयर न्यौपानेले भनिन्। उनले अझैपनि महिला र पुरुषका बीचमा असमानता विद्यमान रहेको बताउँदै त्यसलाई चिर्न जरूरी रहेको धारणा व्यक्त गरिन्।
स्थानीय तहमा प्रमुख र उपप्रमुखको अधिकारको बाँडफाँट स्पष्ट रूपमा नतोकेकाले कार्य सम्पादनमा थुप्रै चुनौती रहेको उपमेयर न्यौपानेले गुनासो गरिन्। उनले अबको ५ वर्षमा नेतृत्व तहमा महिलाहरू आउनका लागि महिलाहरूमा आन्तरिक रूपान्तरणको खाँचो औंल्याएकी थिइन्। ‘अधिकार माग्दा पाइएन भने वैचारिक लडाई लड्न सक्ने हैसियत सबैले निर्माण गर्न आवश्यक हुन्छ,’ उनले भनिन्।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले स्थानीय तहमा संविधानले उपप्रमुखहरूलाई बढी जिम्मेवारी दिएको भएपनि प्रमुख र उपप्रमुखका बीचमा सहकार्य हुन नसक्दा कार्य सम्पादनमा निकै चुनौती रहेको गुनासो गरिन्।
‘न्यायिक समितिले ऐन नियम कानून नआउँदा कार्य साह्रै सम्पादनमा अप्ठेरो परेको छ,’–थापाले भनिन्, ‘अझै त्यसमा मेयर र उपमेयरका बीचमा सहकार्य नै हुँदैन।’ उनले मेयरले उपमेयरसँग सरसल्लाह र आवश्यक सल्लाह सुझाव समेत नगर्ने गरेको गुनासो गरिन्। ‘ हामी पनि उनीहरू जस्तै निर्वाचित भएरै आएका हौं, तर,उनीहरूमा पुरुषवादी सोच र हैकमवादी सोच यथावत छ। त्यही घमन्डले समस्या भएको छ,’ थापाले भनिन्।
उनले अहिलेको संक्रमणकालीन अवस्थामा जनप्रतिनिधिहरू एकअर्काको सहयोगी भएर कार्य सम्पादन गर्नुपर्ने बताइन्। स्थानीय तहका उपप्रमुखहरूलाई न्याय सम्पादन गर्ने जिम्मेवारी बहन गर्न विभिन्न तालिमहरूको आवश्यकता उनले औंल्याइन्।
कार्यक्रममा सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले नेपालको संविधानले महिलाहरूलाई अधिकार सहितको राजनैतिक नेतृत्व गर्ने अवसर प्रदान गरेको हुँदा अब यसलाई सबै महिलाहरूले अवसरका रूपमा भरपुर उपयोग गर्दै अगाडि बढ्नुपर्ने बताइन्। उनले समाज रूपान्तरण क्रमिक रूपमा हुँदै गएको भएपनि पुरुषवादी सोच भने अझैपनि समाजमा व्याप्त रहेको हुँदा त्यसलाई विस्तारै चिर्दै जानुपर्ने बताइन्।