प्रदेश नम्बर ६ को प्रदेश उपसभामुखको लागि शुक्रबार (आज) उम्मेदवारी दर्ता गरिँदैछ।
एमालेबाट सभामुख बनेको प्रदेशमा माओवादीको उपसभामुख बन्ने वाम गठबन्धनको सहमति अनुसार माओवादीले आज उम्मेदवारी दिनेछ।
उपसभामुखका लागि माओवादी केन्द्रका महिला सांसदहरू सीता नेपाली, कृष्ण शाह, विमला केसी, पुष्पा घर्तीले आ–आफ्नो दाबी गरिरहेका छन्। तर, माओवादी केन्द्र स्रोतका अनुसार पुष्पा घर्तीको एकल उम्मेदवारी पर्ने सम्भावना छ। सीता नेपालीले मन्त्री बन्ने आंकाक्षा राखेकाले उपसभामुखका लागि पुष्पा घर्तीलाई उम्मेदवार बनाउने तयारी गरिएको स्रोतले बतायो। माओवादी सांसद ठम्मर विष्टका अनुसार उपसभामुखको चयनका लागि बैठक बसिरहेको छ।
निर्वाचन कार्यतालिका अनुसार शुक्रबार दिउँसो साढे २ बजेभित्र प्रदेश संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्नुपर्ने छ। शनिबार दिउँसो १ बजे बस्ने प्रदेश संसदको तेस्रो बैठकबाट उपसभामुखको घोषणा गरिनेछ।
प्रदेश नम्बर ६ को सभामुखमा यसअघि नै एमालेका तर्फबाट राजबहादुर शाहीले जिम्मेवारी सम्हालिसकेका छन्।