निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ।
निर्वाचन आयोगले बिहिबार संसदमा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनको सम्बन्धमा औपचारिक छलफल सुरू गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरूसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए। संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरूसँग परामर्श सुरू गरेको हो।
चैतभित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरूसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी पनि गरेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरू मतदाता रहनेछन्। बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको खर्च विवरण बुझाउन ढिलाई नगर्न पनि सचेत गराउँदै आएको छ।