नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही प्रदेश छ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
बिहीबार साँझ प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
शाहीलाई मुख्यमन्त्री बनाउन एमालेका १९ र माओवादीका १३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए।
यसअघि एमालेले आलोपालो मुख्यमन्त्री पाउनु पर्ने भन्दै अडान लिएपछि मुख्यमन्त्रीको नियुक्तिमा ढिलाइ भएको थियो।
आज दिउँसो दुबै दलका नेताहरुबीच माओवादीले नै पाँच वर्ष मुख्यमन्त्री चलाउने सहमति गरेका थिए।
सहमतिपश्चात एमालेबाट मुख्यमन्त्रीका दाबेदार यामलाल कँडेल पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
पूर्वउर्जा मन्त्रीसमेत रहेका नवनियुक्त मुख्यमन्त्री शाही कालिकोट (ख) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्। उनको सपथको भने टुंगो लागि नसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।