प्रदेश ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले जनताको नाममा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
बिहीवार प्रदेश प्रमुखको निजी सचिवालय नजिकको खुला स्थानमा प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराएका हुन्। वाम गठबन्धनका संयुक्त उम्मेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई बुधबार प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीको सपथ लगत्तै एमाले र माओवादी केन्द्रका १-१ जना मन्त्रीले सपथ लिएका छन्। माओवादी केन्द्रका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा योजना र एमालेका वैजनाथ चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा सपथ लिएका हुन्।
उनीहरूले पनि जनताको नाममा सपथ खाएका छन्। मुख्यमन्त्री र मन्त्रीहरूलाई प्रदेश प्रमुखले सपथ गराए।
सपथ ग्रहणपछि आजै पोखरेलले पदभार ग्रहण गर्नेछन्। मन्त्रिपरिषद बैठक बस्ने र बैठकपछि पदभार ग्रहण गर्ने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए।
बैठकपछि पदभार ग्रहण गर्ने र लगत्तै पत्रकारहरूबीच सम्बोधनको कार्यक्रम तय भएको प्रमुख सचिव पाठकले जानकारी दिए।