प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार राष्ट्रको नाममा सम्बोधन गरेका छन्।
बिहिबार बिहान बालुवाटारमा पत्रकार सम्मेलन गरी उनले राष्ट्रको नाममा सम्बोधन गरेका हुन्।
सम्बोधन गर्दै उनले भनेका छन्, ‘स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ। राष्ट्रियसभा पनि निर्वाचन भइसकेको छ। एकतिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्दै प्रतिनिधिसभामा समानुपातिकतर्फको सांसदहरूको नामावली सिफारिस गर्ने कार्य सकिएको छ। सरकारको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि नामहरू समेत सिफारिस भैसकेको छ। प्रदेश प्रमुखहरू नियुक्त भैसकेका छन्। केही प्रदेशमा सरकार निर्माणको प्रक्रिया अघि बढिसकेको छ। बाँकी प्रदेशमा केही दिनमै सरकार निर्माण र प्रदेशसभा नेतृत्व चयन गर्ने कार्य पूरा हुनेछ।
संविधान कार्यन्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने मेरो जिम्मेवारी पूरा भएको छ। नयाँ संघीय सरकार निर्माण गर्ने चरणमा हामी पुगेका छौं।
यसका लागि मैले आजैको मितिबाट प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु। तर, सरकारको नेतृत्वमा नरहे पनि जनताको सुःख दुःखमा मेरो पार्टी र म सदा सर्वदा क्रियाशिल रहने छौं। नेपाललाई समृद्ध मुलुक बनाउने अभियानमा हाम्रो निष्ठापूर्ण प्रतिबद्धता रहने छ।
अब बन्ने नयाँ सरकारलाई दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरी हितमा काम गर्न सफलता मिलोस, मेरो यही शुभ कामना छ।
हेर्नुहोस् पूर्णपाठ