प्रदेश ५ का सभामुखमा पूर्णबहादुर घर्तीले आफूले प्रदेश संसदमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन्।
बुधवार प्रदेश नं. ५को सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै घर्तीले सभामुखको हैसियतले सबै दललाई मिलाएर लैजान समन्वयकारी भूमिका खेल्ने उनले दाबी गरे। ‘सबैसँग मिलेर र मिलाएर म अघि बढ्छु,’ उनले भने, ‘सामाजिक न्याय र समाज रूपान्तरणका लागि वर्षौंदेखि लड्दै आएको व्यक्ति भएकाले आज भूमिका थोरै फेरिए पनि त्यो दायित्व निर्वाह गर्न आफू कहिलै चुक्दिनँ।’
रूकुम पूर्वको ख बाट प्रदेशसभामा निर्वाचित घर्तीले विकास र समृद्धिको लागि भौतिक पूर्वाधार निर्माण, पर्यटन, कृषिलगाएतमा विकासको आवश्यकता रहेको औल्याए।
प्रदेश नं. ५को स्थायी राजधानी पायक पर्ने स्थानमा स्थान्तरण गर्न सबै माननीय सदस्यहरूले उचित निर्णय गर्नेमा आफू आशावादी रहेको उनले बताए ।
‘सवैलाई मिलाउने जिम्मेवारीमा छु, सबैसँग समन्वयकारी भूमिका खेल्छु’, उनले भने,‘पाँच नम्बर प्रदेश प्राकृतिक स्रोत, साधन र सम्पदामा धनी छ।’ उनले प्रदेश नं. ५ सम्वृद्धिका आधार प्राकृतिक सम्पदा र पर्यटन विकासलाई बनाउन उपयुक्त हुने धारणा व्यक्त गरे ।
बुधबारको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले घर्तीलाई सभामुख बनाउनका लागि संसदमा पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि घर्तीलाई बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका थिए।
एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका घर्तीका विरुद्धमा कुनै उम्मेदवारी परेको थिएन।
यसैबीच संसदको अर्कौ बैठक फागुन ६ गते दिउँसो १ बजे आह्वान गरिएको छ। उक्त बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोकेको छ। बाम गठवन्धनका बीचमा भएको सहमति अनुसार उपसभामुख एमालेको भागमा परेको छ। एमालेले बर्दीया निवासी कृष्णा चौधरीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ।
सभामुख घर्तीको सपथ आजै बेलुका ५ बजेनव निर्वाचित सभामुख पूर्णबहादुर घर्तीको सपथ आज बेलुका ५ बजे हुने भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले घर्तीलाई सपथ ग्राहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको छ।
सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालय दरवारमार्ग लाईनमा राखिएको छ।