रुकुमका सांसद पूर्ण घर्ती प्रदेश नम्बर ५ को सभामुखमा निर्वाचत भएका छन्।
बुधबार दिउँसो १ बजे बसेको संसद बैठकले घर्तिलाई सभामुख चयन गरेको हो। सभामुखको निर्वाचन हुने कार्यसूची रहेको बैठकमा दधीराम पौडेलले घर्तीलाई सभामुखमा प्रस्ताव गरेका थिए। उनको विपक्षमा कुनै पनि उम्मेद्वारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन्।
वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका उनका लागि प्रस्तावकले निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेको जानकारी गराएपछि उनी निर्वाचित भएका हुन्। आजको बैठकमा अन्य कार्यसूची नरहेकोले अर्को बैठक फागुन ६ गते १ बजे सम्मलाई स्थगित भएको छ।
घर्तीको आजै सपथग्रहण कार्यक्रम छ। त्यस्तै आज नै प्रदेश ५ ले मुख्यमन्त्री पाउँदै छ। एमाले संसदीय दलको नेता शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् । दाङबाट निर्वाचित पोखरेललाई वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको हो।