मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवस संयुक्त रूपमा मनाएका छन्।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी दुवै पार्टीले जनयुद्ध दिवस संयुक्त रूपमा मनाएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले जनयुद्धका नायक पुष्पकमल दाहाल र बाबुराम भट्टराई खलनायकमा परिणत भएको गम्भीर आरोप लगाए।
उनले वाम गठबन्धन कम्युनिष्ट नै नभएको दाबी समेत गरे। माओवादी केन्द्रका अध्यक्ष दाहाल वाम गठबन्धनको नाममा पुरानै राज्यसत्तामा विलय हुन पुगेको वैद्यको दाबी छ। अध्यक्ष वैद्यले जनताले वामगठबन्धनलाई नभई कम्युनिष्टहरूलाई निर्वाचनमा मतदान गरेको दाबी गरे।उनले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी भइसकेकाले क्रान्तिको नेतृत्व गर्न नसक्ने तर्क गरे।
अध्यक्ष वैद्यले जनवाद ल्याउने गरी नेपाली क्रान्तिको नेतृत्व आफूहरूले मात्रै गर्ने दाबी गरे।