प्रदेश नम्बर २ मा मधेसी गठबन्धनमा आवद्ध दुई दलले सरकार गठनको तयारी सुरू गरेका छन्।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रूपमा सरकार गठनका लागि पहल सुरू गरेका हुन्। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरूलाई आह्वान गरेसँगै दुई दल सरकार बनाउने पहलमा लागेका हुन्।
संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकार गठन गर्ने बताए।
राजपा नेपालका नेता मनिषकुमार सुमनले पूर्वसहमति अनुसार नै २/३ दिनभित्रै सरकार गठन हुने बताए।
प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई दलले मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपाललाई र सभामुख राजपालाई दिने गरी यसअघि नै सहमति गरिसकेका छन्।