प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतसँगको सम्बन्धलाई सरकाले अझै सुदृढ बनाउन चाहेको बताएका छन्।
नेपाल भ्रमण रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले बेलायत सरकारले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने विषयमा केन्द्रीत भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए।
त्यसक्रममा बेलायती रक्षामन्त्री ल्यान्क्यास्टरले प्रधानमन्त्री देउवासँग नेपालमा सहयोगको क्षेत्र विस्तार गर्न बेलायत सरकार तयार रहेको बताए।
भेटमा प्रधानमन्त्री देउवाले बेलायती रक्षामन्त्री ल्यान्क्याष्टरसँग बेलायतमा कार्यरत नेपाली सैनिकहरूको सेवा र सुविधाका विषयमा पनि चासो व्यक्त गरेका थिए।
बेलायतले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।