नेकपा एमालेका उपाध्यक्ष भीम रावलले फागुन पहिलो हप्ताभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन्।
उपाध्यक्ष रावलले प्रतिनिधिसभाको निर्वाचनको सम्पूर्ण परिणाम पेश हुने बित्तिकै राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारे। निर्वाचन आयोगले फागुन ३ गतेभित्र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेकाले पनि अब सरकार गठनमा ढिलाइ हुने अवस्था नरहेको उनको दाबी छ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार गठन प्रक्रिया सँगसँगै अघि बढ्ने दाबी पनि गरे।
उपाध्यक्ष रावलले काम चलाउ सरकारले राष्ट्रियसभाको ३ सदस्य मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकोमा कडा आपत्ति जनाए। जनताको मतको अपमान हुनेगरी सरकार अलोकतान्त्रिक ढंगले अघि बढिरहेको उनको आरोप छ।