राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रपति भण्डारीले संविधानले लक्षित गरेको न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु सबैको सर्वोपरी दायित्व भएको पनि स्मरण गराइन्। उनले जन आकांक्षा अनुरुप मुलुकको सामाजिक, आर्थिक रुपान्तरण गर्न पूर्व सांसदहरूको राजनीतिक अनुभव र व्यवसायिक दक्षता उपयोगी हुने विश्वास पनि व्यक्त गरिन्।
सोमबार काठमाडौंमा आयोजित पूर्व सांसदहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै अब जनताको आकांक्षा पूरा गर्नु मुलुकको मूल कार्यभार भएको पनि स्पष्ट पारिन्।
कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले मुलुकको प्रतिष्ठानमा आँच नआउने गरी काम गर्न नयाँ सरकार सफल हुने विश्वास व्यक्त गरे। उनले जनमतको सम्मान गर्दै मुलुकलाई समृद्ध बनाउन पनि नयाँ सरकार र सबै तहका जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।
पूर्व सभामुख रानाभाटले जनताको भावना अनुसार नचल्ने सरकार र संसदलाई आफूहरूले खबरदारी गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे।