प्रदेश नम्बर २ प्रदेशसभाले नियमावली मस्यौदा समिति गठन गरेको छ।
सोमबार बसेको प्रदेशसभा बैठकले ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो। समितिमा राम अषिश यादव, संजयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डिम्बलकुमारी झा, रमेशकुमार कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दीलिपकुमार साह, सावित्रीदेवी साह र शेख अवुकलाम आजद रहेका छन्।
प्रदेशसभाको सोमबारको कार्य सूचीमा उपसभामुखको निर्वाचनको मिति तोक्ने तय भएपनि बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लगनलाल चौधरीले त्यसलाई कार्यसूचीबाट हटाएका थिए।
त्यसैगरी, जेष्ठ सदस्य चौधरीले मर्यादापालकलाई १५ दिनभित्र सफारी सूट र महिलाको हकमा साडी लगाउन रुलिङ गरेका थिए। जनयुद्धको क्रममा मारिएका शहीदहरूको तस्वीर समेत सभा कक्षमा राख्न जेष्ठ सदस्य चौधरीले पुनः रुलिङ गरेका थिए। प्रदेश नम्बर २ प्रदेशसभाको अर्को बैठक बुधबार बोलाइएको छ।