समाचार टिप्पणीदेशका सातमध्ये ४ प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुने भएका छन्। माओवादी केन्द्रसँगको भागबन्डामा एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री पाएको हो।
आफ्नो भागमा परेका चारमध्ये दुई प्रदेशमा एमालेले चुनावमार्फत् संसदीय दलको नेता छानेको छ भने प्रदेश ४ र ५ मा सहमतिमा संसदीय दलका नेता छानिएका छन्।
चुनाव र सहमति गरेर छानिएका चारै प्रदेशमा मुख्यमन्त्रीमा भने पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एकलौटी छ
प्रदेश १ मा शेरधन राई, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ र ५ मा शंकर पोखरेल संसदीय दलको नेता चयन भएका छन्। दलको नेता चयनसँगै चारै जना मुख्यमन्त्री बन्दैछन्। यीमध्ये पौडेल र पोखरेलले आइतबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरिसकेका छन्।
एमालेले पाएका चार प्रदेशमध्ये प्रदेश १ र ३ मा नेता मावध नेपालकुमार पक्षका आकांक्षीसमेत थिए। प्रदेश १ मा पार्टी सचिव भीम आचार्य र प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रतिष्पर्धामा उत्रिएर पराजित भए। निर्वाचित भएका पौडेल र राई ओली पक्षधर नेता हुन्।
प्रदेश ४ का मुख्यमन्त्री आकांक्षी पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबै ओली निकटका थिए। किरण गुरुङको वामदेवसँग समेत राम्रो सम्बन्ध छ। तर प्रदेश ४ मा किरणले पृथ्वीसुब्बालाई अन्तिम समयमा छाडिदएका हुन्। प्रदेश ५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णय निर्वाचनअघि नै भएको थियो। एमाले स्थायी समिति सदस्य पोखरेल ओलीको ‘कोर टिम’का सदस्य समेत हुन्।
कसरी लागे पाखा?एमालेले निर्वाचनअघि नै माओवादीसँग प्रदेश ५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने समझदारी गरेको थियो। त्यसबाहेक एमालेले मुख्यमन्त्री टुङ्गो लगाउन बाँकी थियो। मन्त्री भैसकेका शेरधन राई र सचिव भीम आचार्य प्रदेश १ मा चुनाव लड्न गएका थिए।
प्रदेश ३ मा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य प्रदेशमा चुनावमा खडा भएका थिए। प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पनि निर्वाचन अघिदेखि नै मुख्यमन्त्रीको आकांक्षीका रूपमा प्रस्तुत भएका थिए।
राष्ट्रिय सभाका उम्मेद्वारदेखि स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरका मेयर समेत टुङ्गो स्थायी समितिले लगाएको थियो। मुख्यमन्त्री भने एमालेले स्थायी समितिबाट टुंग्याएन। अध्यक्ष ओलीले स्थायी समितिबाट मुख्यमन्त्रीको विषय पन्छाए। मुख्यमन्त्रीका आकांक्षी नेताहरु नै स्थायी समितिमा रहेकाले ओलीलाई उनीहररुलाई नाघेर जान गाह्रो थियो।
भीम आचार्य र अष्टलक्ष्मी शाक्य स्थायी समिति बैठकमा रहन्थे। यस्तोमा उनीहरु मुख्यमन्त्री हुन खोज्दा ओलीलाई रोक्न सहज थिएन। जिम्मेवारी दिनु वाध्यात्मक हुन्थ्यो। ओलीले स्थायी समितिमा प्रदेशको संसदीय दलको नेता छान्न निर्वाचन गर्ने प्रस्ताव गरे।
प्रदेश ३ मा अष्लक्ष्मी हारिन् भने प्रदेश १ मा भीम आचार्य हारे। प्रदेश १ मा माधव नेपाल पक्षको बहुमत भए पनि ओली पक्षले त्यहाँ ‘माइक्रो म्यानेजमेन्ट’ गरेर जीत निकाल्यो।
प्रदेश ३ मा डोरमणि पौडेलको संसदीय दलको निर्वाचन अघिसम्म समेत चर्चा थिएन। पौडेल प्रदेश सभाको पहिलो बैठकको सभामुख बनेपछि बल्ल मिडियाको नजरमा परेका थिए। उनी सभामुखकै रूपमा चर्चामा थिए। तर ओली पक्षबाट उनले अन्तिम समयमा बाजी मारे।
केही समयअघि मात्र माधव नेपालबाट ओली पक्षमा आएका राजेन्द्र पाण्डे मुख्यमन्त्रीको आकांक्षी थिए। तर ओलीले ‘मुख्यमन्त्रीमा कसैलाई वचन दिएको छैन’ भन्दै पन्छिदिए। ओलीको ग्रिन सिग्नल कुरेर बसेका पाण्डेले अष्टलक्ष्मीसँग प्रतिष्पर्धा रहेको बताइरहे।
पाण्डेले ओलीको सिग्नल नपाएपछि उम्मेद्वारी दिएनन्। उनले अष्टलक्ष्मीलाई समर्थन गरे। मुख्यमन्त्रीमा डोरमणि विजयी भए।
नेकपा एमालेमा पछिल्लो समय माधव नेपालको पक्ष कमजोर बनेको छ। पार्टी भित्र ओलीलाई ‘चेक’ गर्ने अवस्था अन्य नेताहरुले बनाएका छैनन्।
पार्टी एकता र नेतृत्व व्यवस्थापनका विषयमा समेत ओलीलाई एकल निर्णय गर्ने अधिकार दिइएको छ। राष्ट्रिय राजनीतिमै शक्तिशाली बनिरहेका ओलीले पार्टीभित्र समेत आफ्नो पकड मजबुत बनाएका छन्। पछिल्लो उनको शक्ति प्रदर्शन मुख्यमन्त्री चयनमा देखिएको छ।