निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ।
निर्वाचन आयोगका पदाधिकारीहरुले आईतबार विहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन्।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम विहिबार सार्वजनिक गरिएको थियो।
सोही विवरण आयोगले ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। संविधान र कानुनको परिधि भित्र रहेर ढिला नगरी राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता ढकालले स्पष्ट पारे।
राष्ट्रियसभा निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो । त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी, नेपाल २ र संघीय समाजवादी फोरम, नेपाल २ स्थानमा विजयी भएका छन्।
५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले ढिलोमा फागुन ५ गते भित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गर्ने वित्तिकै नयाँ सरकार गठनका लागि बाटो खुला हुनेछ ।