नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले अहिले आफुले चालिरहेको कदमबाट देश र जनतालाई फाइदा पुग्ने जस्तो लागेन भने अर्कै फड्को मार्न सक्ने बताएका छन्।
शनिबार चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा बोल्दै उनले राजनीति संकटबाट देशलाई निकास दिन आफू मियोका रुपमा भूमिका खेल्दै आएको उल्लेख गर्दै यस्तो बताएका हुन्।
‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म अर्कै फड्को मार्न सक्छु, ’ अध्यक्ष दाहालले भने, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो। शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’
उनले एमालेसँगको एकता वा सरकार गठनबारे कार्यक्रममा केही पनि बोलेनन्। बरु यसअघि आफू प्रधानमन्त्री बन्नेबेलाको सन्दर्भ स्मरण गरे।
'देशको राष्ट्रियता, एकता र अखण्डता तथा सबै समूहबीचको सदभावका लागि मैले खेलेको भूमिकाको जनताले उचित मूल्यांकन गरेका छन्,' उनले भने 'देश नै टुक्रिने हो कि भन्ने आशंका रहेको बेला सबैलाई एकै ठाउँ ल्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार गर्नु निकै ठूलो चुनौती थियो। जनताप्रतिको उत्तरदायित्वबोध गरेर सबैलाई मिलाएर अघि बढ्न सकेँ।'
आफ्नो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आएको भन्दै दाहालले मुलुकका लागि जस्तो सुकै भूमिका निभाउन तयार रहेको बताए। यहि मेसोमा उनले कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पनि संझना गरे।
'मेरो भूमिका देखेर नै होला, गिरिजाप्रसाद कोइरालाले मलाई अब देश तपाईको काँधमा छ भनेर अस्पतालको शैय्याबाट भन्नुभएको थियो। मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आयो। अहिले पनि यही भूमिकामा छु। भोलीका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु।'
गुम्बाको उद्घाटन गर्न गएका प्रचण्डले युद्धकालसँग जोडेर आफुहरुलाई व्यङ्ग्यगर्नेहरुलाई सम्राट अशोकको इतिहास सम्झाए।
'गिरिजाप्रसाद कोइराला जीसँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको थियो. ,' उनले भने ‘युद्धकालसँग जोडेर हामीलाई व्यंग गर्नेहरु पनि छन्, तर इतिहास हेर्दा सम्राट अशोक नै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरी फैलाउने विभूति भएको बिर्सिन मिल्दैन।’