नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनेर नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
कार्यक्रममा बोल्दै शर्माले भने,‘पार्टी एकताको गृहकार्य भैरहेको छ, प्रचण्ड र ओलीबीच वान–टू–वान भेटवार्ता धेरै भैरहेको छ, एकता हुन्छ, एउटै पार्टी बन्ने भएपछि अब माओवादी केन्द्र पनि सरकारमा जान्छ भन्ने प्रश्नै हुँदैन, अब दायाँबायाँ हुने कुरै छैन।’
यद्यपी उनले दुई पार्टीबीचको एकता दायाँबायाँ होस् भनेर चाहने देशी तथा विदेशी शक्तिहरू धेरै भएकोले अब ती सबै खाले चलखेललाई नेतृत्वले असफल तुल्याउने जिकिर गरे। उनले भने,‘एकता भाँड्न खोज्ने चलखेललाई असफल पार्ने तागत र क्षमता हामीसँग छ।’
नेता शर्माले नेताद्धय ओली र प्रचण्डले सबैको कुरा सुन्ने तर निर्णय आफैँ लिने बताए। उनले भने,‘सबै कुरा मिल्छ, एउटै पार्टी भैसक्यो, अब एकता भन्नेबित्तिकै भागबण्डा होइन नि, नेताहरूबीच समझदारीमा कार्यविभाजन हुन्छ।’
उनले पदिय बाँडफाँट विधि र विज्ञान अनुसार हल गर्ने स्पष्ट पारे। उनले जनमत वाम गठबन्धनको पक्षमा त्यसमा पनि एमालेको पक्षमा देखिएकोले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने ठोकुवा गरे।
फरक प्रसंगमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालै सम्पन्न नेपाल भ्रमणलाई सद्भावपूर्ण भ्रमणको संज्ञा दिए। उनले भने,‘उहाँको भ्रमण सद्भावपूर्ण हो, यसलाई अन्यथा रूपमा लिनुहुँदैन।’