निर्वाचन आयोगले माघ २९ गते साँझ ५ बजेभित्र दलहरूलाई समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम सिफारिस गर्न पत्राचार गरेको छ।
पाँच वटा दलले समानुपातिक निर्वाचनमा थ्रेस होल्ड कटाएका छन्। आयोगले समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्दै एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले ६/६ सिट जितेको जानकारी दिएको हो।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० जना सांसद समानुपातिक तर्फबाट चुनिनेछन्।
आयोगले एमालेले ४१ मध्ये कम्तिमा ३७ महिलालाई प्रतिनिधि सभामा सिफारिस गर्नुपर्ने जनाएको छ। संविधानले संघीय संसदमा ३३ प्रतिशत सहभागिताका लागि प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्तिको व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार अब कांग्रेसले ४० मध्ये २०, नेकपा माओवादीले १७ मध्ये १६ जना महिला पठाउनुपर्नेछ। राजपाले ६ मध्ये ५ नै तथा संघीय फोरमले ६ मध्ये ५ जना महिला सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ।
मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आयोगले राष्ट्रिय सभा निर्वाचन नभएकै कारण सार्वजनिक गर्न सकेको थिएन। आयोगले निर्वाचन भएको ६५ दिनपछि शुक्रबार मत परिणाम सार्वजनिक गरेको हो।