नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधन गरेर मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
शुक्रबार राजधनानीमा आयोजित साक्षात्कारमा नेता महासेठले मधेशको समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउँदै भने,‘एमाले र माओवादीले त संविधान संशोधनको लागि सहकार्य गरेर जाऔं भनेर राजपा र फोरमलाई आओस् भनिरहेको छ, हामी त उहाँहरू सरकारमा आउन् भन्ने चाहन्छौं।’ उनले राजपा र फोरमलाई सरकारमा ल्याउनको लागि आफूहरू पहल गरिरहेको समेत जनाए।
साक्षात्कारमा बोल्दै उनले फोरम र राजपा मधेश केन्द्रीत दल भएपनि यही देशकै पार्टी भएकोले सरकारमा सहकार्य गर्न चाहेको सुनाए। महासेठले भने,‘राजपा र फोरमले समस्या साँच्चिकै समाधान गर्न चाहेको हो भने हामीसँग सम्पर्क गर्नुपर्यो नि, हामी संविधान संशोधन गर्छौं, तर उहाँहरूले भनेजस्तो जस्ताको त्यस्तै चाहीँ गर्दैनौं, देश र जनताको हितमा संशोधन गर्छौं।’
उनले संविधान संशोधनको मुद्दा सम्बोधन भएपछि मधेशवादी दलहरूसँग कुनै मुद्दा नै नहुने पनि बताए। उनले भने,‘संविधान संशोधनको मुद्दा हल भयो भने अब मधेशवादी दलहरूसँग कुनै मुद्दा नै हुँदैन।’ प्रदेश सभाका सांसदहरूले हिन्दीमा बोलेकोले जनता आन्दोलित भएको उल्लेख गर्दै उनले बाहिर जे जे भाषा बोलेपनि हुने तर संसदमा बोल्न हिन्दी किन बोल्नुपर्यो भन्दै प्रश्न समेत तेर्साए।
महासेठले अब एमालेको नेतृत्वमा वा माआवादीको नेतृत्वमा भन्दापनि एकीकृत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास दिलाए। उनले भने,‘अब दुई पार्टी भन्ने कुरै छैन नि, हामी त एउटै पार्टी हौं।’
फरक प्रसँगमा उनले मुलुकमा संसद नभएको अवस्थामा गलत क्रियाकलापहरू भैरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने,‘संसद नभएको अवस्थामा अहिले मुलुकलाई टाँट पल्टाउने कामहरू भैरहेका छन्, यो गलत हो, आउने सरकारलाई थप १२० अर्बको भार आउँछ।’ संसद नभएको अवस्थामा भीआईपीलाई सुविधान थप्ने कुरा गलत भएको उनको गुनासो थियो। यस्तै भैरहे मुलुक टाँट पल्टिन धेरै समय नलाग्ने उनको भनाइ थियो।
उनले एनसेल प्रकरणको कुरा उल्लेख गर्दै भने,‘एनसेल प्रकरणमा पैसा बाहिर गयो, सबै पैसा बाहिर जान दिने हो भने के हुन्छ ? मुलुकको हालत ? संसद नभएको बेला मनपरीतन्त्र भैरहेको छ।’
त्यतिमात्रै नभएर उनले संसद क्रियाशिल नभएको बेला न्यायालयले पनि कानूनका विरुद्धमा निर्णयहरू गरिरहेको आरोप लगाए। उनले भने,‘तर जनता त न्यायलय हेरिरहेका छन्, यही क्रियाकलापहरू बढ्दै गयो भने विश्वास घट्छ।’