राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरूले अहिले केन्द्रीय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रमम बोल्दै उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला।’
नेता झाले भने,‘ऋषिजी ओलीजीलाई प्रधानमन्त्री बन्नुपर्छ भनेर दिनरात खटिरहनुभएको छ, अहिलेसम्म उहाँको नेतृत्वमा सरकारमा जानेबारे हाम्रो पार्टीमा छलफल भएको छैन।’
झाले संविधान संशोधनको लागि सबैभन्दा कटु आलोचना एमालेबाटै भएको गुनासो पोखे । उनले भने,‘त्यसैले हामी एमालेको नेतृत्वमा सरकारमा जाने संभावना छैन, हामी प्रतिपक्षमा बसेर निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्छौं।’ अब बन्ने सरकारले आफूहरूको एजेण्डाप्रति कस्तो धारणा बनाउँछ त्यो हेर्न बाँकी रहेको उनको भनाइ थियो।
त्यस्तै, उनले प्रदेश नम्बर २ मा फोरम र राजपा नेपालले संयुक्त सरकार बनाउने विश्वास दिलाए। उनले भने,‘संयुक्त सरकार बनाउने प्रयास र छलफल भैरहेको छ, दुई दिन पहिले यसबारेमा एक चरणमा छलफल भयो, अर्को चरणमा पनि छिट्टै छलफल हुन्छ।’ उनले संयुक्त सरकार बनाउने भएकोले राजपा लचकता अपनाउन तयार रहेको विश्वास दिलाए ।