नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शुक्रबार नेपाल भारत सीमाना क्षेत्रमा प्रदर्शन गरेको छ।
भारतले नेपालको विभिन्न भू–भागमा पटक- पटक गर्दै आएको ज्यादति र सीमा अतिक्रमणका विरुद्धमा विरोध स्वरुप प्रदर्शन गरिएको हो। क्रान्तिकारीका राप्ती ब्यूरो संयोजक नरेन्द्र विकको नेतृत्वमा दाङको सीमानाका कोइलावासमा प्रदर्शनपछि भारतीय ज्यादतिका विरुद्धमा सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा गाडिएको विकले बताए। भारतीय विस्तारवाद मुर्दावाद, १९५० लगायतका असमान सन्धी खारेज गर,मिचिएका भू–भाग फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो।
उक्त विरोध प्रदर्शनमा स्थानीय जनताले समेत साथ दिएको विकले बताए। ‘सीमानामा नेपाली झण्डा गाडेपछि सीमानामै नारा जुलुस गर्यौं अनि कोइलावास बस्तीको परिक्रमा गरेका हौं,’ जिल्ला सदस्य तेजप्रसाद पोख्रेलले भने।
कोण सभालाई सम्बोधन गर्दै राप्ती ब्यूरो संयोजक विकले दुई छिमेकीको सम्बन्ध सुमधुर हुनुपर्ने माग गरे। ‘महलमा बस्नेले छिमेकीले के छिमेकी गरीब छ भन्दैमा साना घरहरूमाथि फोहर फाल्न मिल्छ ?’ उनले भने, ‘भूगोलमा हाम्रो देश सानो भएपनि सम्मान र अस्मितामा हामी कोही भन्दा कम छैनौं।’
उनले वीर नेपालीहरू सीमा रक्षाको निम्ति बलिदान गर्न तयार रहेको विकले बताए। भारतका शासकहरू नेपाल आउँदा नेपाली नेताहरूले उनीहरूसँग सीमाना मिचिएको कुरा स्पष्ट रूपमा उठाउन नसकेको र लम्पसार भएर लाचार प्रवृत्ति देखाउने गरेको भन्दै अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष प्रीतिमा चौधरीले आक्रोश व्यक्त गरेकी थिइन्।
‘सत्ता र शक्तिको लागि जस्तो सुकै सम्झौता गर्न पनि तयार हुने भ्रष्ट नेताहरूका विरुद्ध सबैले खबरदारी गर्न सक्नुपर्छ,’ अध्यक्ष चौधरीले भनिन्। उनले देशको एक इञ्च जमिनपनि मिच्न नदिनका लागि सबै नेपाली एकजुट हुन आग्रह गरेकी थिइन्।