एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन्। योसँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। डोरमणिले ३४ मत ल्याउँदा अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएका छन्।
एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ।
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन्।
राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर समेत काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।
काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा वि.सं. २००२ साल चैत १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो।
मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक बी.ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।
उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए ।