निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको जानकारी दिएका हुन्।
बुधबार ५६ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।
प्रवक्ता ढकालले आयोगका कर्मचारीको अथक परिश्रम र राजनीतिक दलहरूको सहयोगमा निर्वाचनको नतिजा सोचेभन्दा पनि छिटो सार्वजनिक भएको स्पष्ट पारे।
निर्वाचनमा एमालेले २७ सिट ल्याएर पहिलो दल बन्न सफल भएको छ। त्यसैगरी नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम, नेपाल २ र राष्ट्रिय जनता पार्टी, नेपाल २ स्थानमा विजयी भएका छन्।
निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार ७ दिनभित्र राष्ट्रिय सभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गर्नेछ। आयोगका प्रवक्ता ढकालले प्रतिनिधि सभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेर फागुन ५ गतेभित्र राष्ट्रपति समक्ष पेश गर्ने गरी काम भइरहेको पनि जानकारी दिए।
आयोगले शुक्रबार दलहरूलाई उनीहरूले प्राप्त गरेको सिट संख्याबारे पत्राचार गर्नेछ। पत्रचार गरिएको सिट संख्या अनुसार दलहरूले बन्द सूचीमा पेश भएका नामावली अनुसारको सूची पेश गरेपछि प्राप्त नामावलीको आधारमा प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक हुनेछ। दलहरूले अन्तिम नामावली पठाउँदा गल्ती भए सच्याउन २ दिनको समय दिइने पनि आयोगका प्रवक्ता ढकालले जानकारी दिए।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ ।