प्रमुख तीन दलका विद्यार्थी संगठनहरूले ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
बिहिबार बिहानै कलेजको अनुगमन गरेका विद्यार्थी संगठनका नेताहरूले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएको भन्दै एक साताभित्र फिर्ता नलिए किष्ट मेडिकल कलेज तालबन्दी गर्ने चेतावनी दिएका हुन्।
मनपरी ढंगले विद्यार्थीहरूबाट शुल्क असुल गरेकाले फिर्ता नलिए सो कलेज तालाबन्दी गर्ने निष्कर्षमा पुगिएको अनेरास्ववियूकी अध्यक्ष नविना लामाले जानकारी दिइन्। उनले मापदण्ड विपरीत संचालन गरिएको सबै मेडिकल कलेज खारेज गर्न आफूहरू बाध्य हुने चेतावनी दिइन्।
नेपाल विद्यार्थी संघका कार्यबहाक अध्यक्ष पुष्प शाहीले मेडिकल कजेलमा पढेका विद्यार्थीहरूलाई न्याय दिन आफूले पहल गर्नु परेको बताए।उनले मेडिकल काउन्सिलले तोकेको मापदण्ड विपरीतका शुल्क असुल गर्ने कुनै पनि कलेजलाई खारेज गर्न लागि पर्ने चेतावनी दिए।
अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले किष्ट कलेज मापदण्ड विपरीत चलेको अनुगमनका क्रममा पाइएको उल्लेख गर्दै एक हप्ताभित्र पनि नसच्चिए तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिए।
मेडिकल कलेजहरूले जथाभावी शुल्क असुल गरेको उजुरी परेपछि प्रमुख दलका विद्यार्थी संगठनहरूले बिहिबारबाट अनुगमन सुरू गरेका हुन्।
सरकारले एमविविएस अध्ययनका लागि ३८ लाख ५० हजार र विडिएस अध्ययनका लागि १९ लाख २५ हजार रुपैयाँ शुल्क तोकिदिएको छ। तर मेडिकल कलेजहरूले भने ६२ लाखसम्म शुल्क असुल गरेको पाइएको भन्दै विद्यार्थी संगठनहरू त्यसको विरोधमा उत्रिएका हुन्। उनीहरूले न्यूनतम भौतिक पूर्वाधार नभएका मेडिकल कलेज खारेज गर्न पनि सरकारलाई दबाब दिइरहेका छन्।