पाँच नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित राष्ट्रियसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।
बिहिबार बिहान पाँच नम्वर निर्वाचन अधिकृतको कार्यालयले घोराहीमा औपचारिक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरेको हो। निर्वाचन अधिकृत हेमन्त रावलले विजयी आठ जना राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै शुभकामना दिएका हुन्।
बुधबार भएको निर्वाचनबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका समान दुई–दुई जना र नेपाली कांग्रेसका एकजना निर्वाचित भएका थिए। बुधबारको निर्वाचनबाट दलिततर्फ एमालेका उम्मेदवार रामलखन चमार, अपांग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भएका थिए भने अन्यतर्फ एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का र कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय विजयी भएका थिए।
तर, यसअघि नै महिला कोटाबाट तीन जना महिला नेतृ निर्विरोध निर्वाचित भइसकेका थिए। एमालेबाट कोमल वली र मीना बूढा र कांग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भइसकेका थिए। कुल ८ जनामध्ये प्रदेश नं. ५ मा राष्ट्रियसभा सदस्यमा एमालेका चार, माओवादी केन्द्रका दुई र कांग्रेसका दुई जना विजयी भएका छन्।
बुधबारको निर्वाचनबाट पाँचजना निर्वाचित भएका थिए भने माघ १५ गते तीन जना महिला निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। तर, ती सबै आठै जना राष्ट्रियसभा सदस्यहरूलाई बिहिबार बिहान एकैसाथ निर्वाचन आयोगले प्रमाणपत्र उपलब्ध गराएको हो।