दाङमा बुधबार भएको प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यको निर्वाचनमा दुई जनाको लागि दुई घन्टा प्रतिक्षा गर्नु परेको छ।
दिउँसो एक बजे अगावै ३ सय ३ मत खसिसकेको थियो। स्थानीय तहतर्फ महिला १ सय १ र पुरुष १ सय १६ गरि २ सय १७ मत खसिसकेको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ नम्बर प्रदेशमा १२ जिल्लाका स्थानीय तहमा कुल मतदाता २ सय १८ मात्रै हुन्।
त्यस्तै दिउँसो १ बजे अगाडि नै प्रदेशसभा तर्फ ३१ महिला र ५५ पुरुष गरि कुल ८६ मत खसिसकेको थियो। प्रदेशसभातर्फ प्रदेश नम्बर ५ मा ८७ मतदाता थिए। तर, स्थानीय तहतर्फ बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालको तर्फबाट अध्यक्षमा निर्वाचित ईश्तियाक अहमद साह र रुपन्देही जिल्लाबाट संघीय राष्ट्रिय जनता पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य विना पन्त अनुपस्थित भएको हुँदा उनीहरूलाई दुई घन्टादेखि कुरेर निर्वाचन आयोग बसेको छ।
स्रोतका अनुसार अनुपस्थित दुवै जना मतदानमा नआउने जनाउ दिइसकेका छन्। विश्वसनीय स्रोतका अनुसार नरैनापुर गाउँपालिकाको अध्यक्ष साह बिरामी भएको हुँदा उपचारका लागि छिमेकी देश भारतको लखनऊनमा उपचारका लागि गएका छन् । त्यस्तै, पन्त पनि पार्टी भित्रको आन्तरिक किचलोका कारण मतदानमा नआएको बताइएको छ ।
तर पनि औपचारिकताको लागि मात्रै भएपनि निर्वाचन आयोगले उनीहरू दुवैजनालाई कुरेर तीन बजेसम्म बसेको थियो। औपचारिकता पूरा गर्नका लागि भएपनि तीन बजेसम्म कुर्नुको विकल्प नरहेको प्रदेश नं. ५ का मतदान अधिकृत विनोद गौतमले सेतोपाटीलाई बताए। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय मतदानको लागि निर्धारण गरिएको हुँदा दुईजनालाई प्रतिक्षा गर्दै दुई घन्टादेखि कुर्नु परेको उनले बताए।
मतदान अधिकृत गौतमका अनुसार मध्यान्ह १२ बजेसम्म ११ जना मात्रै मत खस्न बाँकी थियो।
प्रदेश नं. ५ मा ५ पदका लागि ८ जना प्रतिपर्धामा उत्रिएका छन् भने यस अघि नै तीन जना महिला भने निर्विरोध निर्वाचित भइसकेका छन्। यसैबीच दाङमा मतदानका लागि आएका मतदाताहरूलाई स्वागत गरिएको छ।
ठाउँ ठाउँमा गेट निर्माण गरिएको छ भने उनीहरूलाई यहाँका धार्मिक एवं पर्यटकीय क्षेत्रको नि:शुल्क भ्रमण पनि गराइएको छ। त्यस्तै, घोराही उपमहानगरपालिकाले सबै मतदातालाई नि:शुल्क भोजनको व्यवस्थापन गरेको थियो ।