सरकारले ६८ अौँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिको बुधबार बसेको बैठकले ६८ औँ प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन ६, ७ र ८ गते ३ दिनसम्म देशभर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । यसै अवसरमा फागुन ७ गते काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा विशेष समारोह आयोजना हुनेछ।
प्रजातन्त्र दिवसलाई देशभर भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री देउवाले जानकारी दिए। उनँले प्रजातन्त्र दिवसमा नेपाली जनता उत्साहका साथ सहभागी हुने विश्वास पनि व्यक्त गरे। प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अव राजनीतिक स्थायित्व कायम हुने विश्वास पनि व्यक्त गरे।
प्रजातन्त्र दिवसलाई भव्यताका साथ सम्पन्न गर्न प्रचार प्रसार उपसमिति, मंच सजावट तथा व्यवस्थापन उपसमिति र ग्राउन्ड, कवाज, व्यायाम व्यवस्थापन समन्वय उपसमिति पनि गठन गरिएको छ । सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक समितिहरु गठन गरिएको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए।
विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्यदुतावासमा पनि प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइनेछ। गृह मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहमा पनि प्रजातन्त्र दिवस मनाउनका लागि विभिन्न समितिहरू गठन गरिएको छ।
https://youtu.be/YeoZZwawnW4