तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ क्याम्पस रोडस्थित क्याम्पस अफ लाईभ साईन्सेस क्याम्पसमा तोडफोड गरेको आरोपमा तीन युवा पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार पक्राउ पर्नेमा तुलसीपुरको विजौरीबाट गणेश खड्का, घोराहीबाट सर्जन परियार र विराज विसी पक्राउ परेका हुन्।
कारवाहीमा परेको भएपनि परियारले आफूलाई नेकपा एमाले निकट अनेरास्ववियूको जिल्ला अध्यक्ष र विसीले जिल्ला सचिव भएको बताउँदै आएका छन्। त्यसैगरी, पक्राउ परेका खड्का भने विजौरी जनता क्याम्पसका अनेरास्ववियूका पूर्व सचिव हुन्। खड्कालाई विजौरीबाट र परियार र विसीलाई घोराहीबाट बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
मंगलबार दिउँसो परियारको नेतृत्वमा आठ वटा मोटरसाईलमा आएका झन्डै १६ जना युवाहरूले कृषि क्याम्पसको झ्याल, ढोका र फर्निचरमा तोडफोड गरेर फरार भएका थिए। क्याम्पस अफ लाईभ साईन्सेस प्रशासनले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।