प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यको निर्वाचन दाङमा जारी छ।
यो प्रदेशमा १२ जिल्लाका ३ सय ५ जना मतदाता छन्। प्रदेशसभातर्फ ८७ र स्थानीय तहबाट २ सय १८ मतदाता रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लाइनमा लागेका छन्।
बिहान १० बजेदेखि नै घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरू भएको हो। मतदानको समय दिउँसो ३ बजेसम्मको लागि निर्धारण गरिएको छ। सर्वसाधारण जनताजस्तै जनप्रतिनिधिहरू समेत मतदानका लागि लाइनमा बसेको दृष्य हेर्न सर्वसाधारणको आसपासमा बाक्लै उपस्थिति छ।
मतदानस्थलमा सुरक्षाको चेक जाँचको व्यवस्था मजबुत पारिएको दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्। निर्वाचन अधिकृतको कार्यालयको आग्रह बमोजिम मतदानमा जाने हरेक जनप्रतिनिधिहरूलाई चेक जाँच गरेर मात्रै मतदानका लागि पठाउने गरिएको उनले बताइन्। मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले यो निर्वाचनमा सहभागी सबै मतदाता जनप्रतिनिधि भएपनि सामान्य मतदाता जस्तै गरि झोला चेकजाँच, परिचय पत्रको चेकजाँच गरिएको बताए।
निर्वाचनको औपचारिकता पूरा गर्नको लागि चेकजाँच गर्नुको साथै गोप्य मतदानको मर्यादा कायमै राख्न मोबाईल अफ गर्न लगाइएको निर्वाचन अधिकृत रावलले बताए। निर्वाचनको सुरक्षाको लागि हतियारसहतिका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका छन् ।
एक घन्टामा १ सय ३२ मत खस्योदाङमा जारी मतदानमा एक घन्टामा एकसय ३२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
प्रदेशसभा सदस्यतर्फ पहिलो मत गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्ने कमलराज श्रेष्ठ र गीता थापाले मतदान गरेका थिए भने स्थानीय तह तर्फपनि गुल्मी जिल्लाकै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र उपमेयर सीता भण्डारीले मतदान गरेका थिए।