महिला अधिकारकर्मीहरूले बलात्कार एवम् यौनजन्य हिंसाका घटनाका दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन्।
महिला अधिकारकर्मीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग सामूहिक भेटगरी देशका विभिन्न भागमा महिलामाथि भइरहेका बलात्कार तथा यौनजन्य हिंसाका दोषीलाई पक्राउ गरी कार्वाही गर्न प्रहरी प्रशासन तत्पर नदेखिएको भन्दै आपत्ति पनि जनाएका हुन्।
महिलामाथि बलात्कार तथा यौनजन्य हिंसा गर्नेमाथि कडाभन्दा कडा कार्वाही गर्न प्रधानमन्त्रीसँग माग गरिएको महिला सुरक्षा दबाब समूहकी अध्यक्ष सावित्री थापाले जानकारी दिइन्।
उनले महिलालाई सुरक्षा दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु परेको उल्लेख गरिन्।
महिला अधिकारीकर्मीहरूले ललितपुरमा ३ महिनाअघि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेकालाई पनि अदालतले साधारण तारेकमा छाडिदिएकोमा पनि आपत्ति जनाएका छन्।
राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कार, ललितपुर र पूर्वको इटहरीलगायतका देशका विभिन्न भागमा बलात्कारको घटना बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न महिला अधिकारीकर्मीहरूले प्रधानमन्त्री देउवालाई उनकै सरकारी निवास बालुवाटार पुगेर आग्रह गरेका हुन्।
उनीहरूले पीडित महिलाहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
https://youtu.be/pJfmgjP3pzM