नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन्।
वरिष्ठ नेता खनालले राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोहोर्याएर दिन नहुने धारणा पनि राखेका छन्। राष्ट्रपति विद्या भण्डारीलाई नै दोहोर्याउने चर्चा भइरहँदा उनी भने त्यसको विपक्षमा उभिएका हुन्।
इरानमा आयोजित आईक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको स्पष्ट पारे। वरिष्ठ नेता खनालले पार्टीले मूल्यांकन गरेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि दोहोर्याए।
वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने दाबी समेत गरे। उनले विचार र संगठनात्मक समस्या समाधान गर्न २ पार्टीबीच छलफल भइरहेको जानकारी दिए।
वरिष्ठ नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रूपमा लिनुपर्ने धारणा राखे।
https://www.facebook.com/setopati/videos/1761999223870643/